मोरङमा मोटरसाइकल दुर्घटना, झापाका कुमारसहित दुई जनाको मृत्यु
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब १०ः३५ बजे लेटाङ नगरपालिका–९ स्थित हात्ती चोकको भित्री सडकखण्डमा अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक झापा घर भएका २७ वर्षीय कुमार नेपाली र पछाडि सवार २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुवैको जना गम्भीर घाइते भएका थिए । कुमारलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्याइएकोमा चिकित्सकले राति १२ बजेतिर मृत घोषणा गरेको मिश्रले बताए ।
सन्देशलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उनको पनि उपचारका क्रममा १२ः०४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली पनि गम्भीर घाइते भएका छन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको डीएसपी मिश्रले बताए ।