इलाम र उदयपुरमा दुई जनाको मृत्यु
कोशी प्रदेशको इलाम र उदयपुरमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । इलामको फाकफोकथुम गाउँपालिका–१ युकरुम्बाका ६० वर्षीय थिरप्रसाद नेपालको खोल्सीमा लडेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब १ बजेतिर घरबाट चियाबारीमा घाँस काट्न गएका नेपाल अचानक खोल्सीमा लडेर घाइते भएका थिए । उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।
उता उदयपुरमा उत्तिसको रुखले किचेर एक जनाको मृत्यु भएको छ । उदयपुरको रौतामाई गाउँपालिका–४ निगालेका ४८ वर्षीय गुञ्जबहादुर राईको रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो २ः३० बजे स्थानीय विदुर रोक्काको मालबासेस्थित बारीमा उत्तिसको रुख ढाल्ने क्रममा सोही रुखले किचेर राई गम्भीर घाइते भएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रौतापोखरीबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ९ः२० बजेतिर उनलाई मृत घोषणा गरिदिएका हुन् ।