भद्रपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
भद्रपुर । चाडपर्वलाई लक्षित गर्दै झापाको भद्रपुरस्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा शुक्रबार यात्रु तथा सवारी चालकलाई आवश्यक सहयोग, सूचना तथा सुरक्षा सेवा उपलब्ध गराउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो।
यात्रु सहायता कक्ष स्थापनाका क्रममा वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतिलाल तामाङ, भद्रपुर नगरपालिका–५ का कार्यवाहक वडा अध्यक्ष जेष्टमल ठाकुर, ट्राफिक प्रहरी पोस्ट भद्रपुरका प्रहरी हवल्दार प्रकाश अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी प्रतिनिधि उषा राजवंशीसहित स्थानीयवासी, सवारी चालक, यात्रु तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सहायता कक्षमार्फत यात्रुका गुनासा तथा समस्याको सुनुवाइ, आवश्यक सूचना प्रवाह र सहजीकरण गरिने प्रहरीले जनाएको छ।