पूर्वराज्यमन्त्री भूमिप्रसाद राजवंशी कांग्रेसको संस्थापनमै फर्किए
कोशी प्रदेश सरकारका पूर्व राज्यमन्त्री भूमिप्रसाद राजवंशी नेपाली काँग्रेसको संस्थापन पक्षमै फर्किएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट मानिने राजवंशी केही समय इतर पक्षमा आबद्ध भएका थिए । काँग्रेस संस्थापन इतर पक्षको हिजोदेखि वडा अधिवेशन शुरु भएको छ । इतर समूहमा घेराबन्दीमा परेपछि प्रदेश सांसद राजवंशी इतर समूह छोडेर संस्थापनमै फर्किएको बताइएको छ । संस्थापन पक्षले उनलाई ससम्मान स्थान दिन लागेको बुझिएको छ ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई लिएर संस्थापन र इतर पक्षबीच गतिविधि तीव्र भइरहेका बेला कोशी प्रदेशसभा सदस्य राजवंशीले आफू इतर पक्षको महाधिवेशनमा सहभागी नभएको स्पष्ट पारेका छन्। राजवंशीले आफ्नो राजनीतिक निष्ठा कुनै गुट वा व्यक्तिप्रति नभई पार्टीको आधिकारिक र संस्थागत धारप्रति रहेको बताएका छन्।
महाधिवेशनको महत्त्वपूर्ण घडीमा केही नेता कार्यकर्ता संस्थापन र इतर पक्षका अधिवेशनमा सहभागी नभएको विषयलाई विभिन्न ढङ्गले व्याख्या भइरहेका बेला राजवंशीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले आफू कुनै गुट वा व्यक्तिको पक्षमा नरहेको उल्लेख गर्दै काँग्रेसको विधि, विधान, लोकतान्त्रिक मूल्य र आधिकारिक सङ्गठनअनुसार आफ्नो राजनीतिक यात्रा अघि बढ्ने बताएका छन्। ‘मेरो निष्ठा कुनै गुट वा व्यक्तिप्रति होइन, नेपाली काँग्रेसको आधिकारिक र संस्थागत धारप्रति हो,’ राजवंशीले भनेका छन्। काँग्रेसभित्र विचारमा मतभेद र नेतृत्वमा प्रतिस्पर्धा हुन सक्ने भए पनि त्यसलाई पार्टीको संस्थागत प्रक्रियाभित्रैबाट अघि बढाउनुपर्ने उनको धारणा छ।