२०८३ असार १६ गते , मंगलबार

झापामा धान दिवस मनाइयो, ७ प्रतिशत रोपाइँ

sajilo news
पार्थ मण्डल
२०८३ असार १५ गते , सोमबार
झापामा धान दिवस मनाइयो, ७ प्रतिशत रोपाइँ

झापा । झापामा २३ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ। कृषि ज्ञान केन्द्र झापासहित विभिन्न पालिकाहरूमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी यस वर्षको राष्ट्रिय धान दिवस मनाएका हुन्।  

कृषि ज्ञान केन्द्र झापाले मेचीनगर नगरपालिका-१३ दुवागढीस्थित शान्ति टोलमा यस वर्ष धान दिवस मनाएका थिए। पूर्वी पाथीभरा कृषि सहकारी समूहको व्यवस्थापनमा भएको कार्यक्रममा १० कट्ठा जमिनमा प्रविधिको प्रयोग गर्दै मेसिनबाट रोपाइँ गरिएको थियो।   

धान संस्कृतिसँग जोडिएको बाली भएकोले धान उत्पादनलाई यान्त्रीकरण, आधुनिकीकरण गर्दै अगाडि बढाउनु पर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा धान दिवस मनाइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए। उनका अनुसार असार १५ गतेसम्म जिल्लामा ७ प्रतिशत रोपाइँ भएको छ। जिल्लामा असार २० देखि साउनको १५ सम्म ७५ प्रतिशत रोपाइँ भइसक्छ। 

‘यहाँका कृषक आकाशे पानीको भरमा खेती गर्ने निकै कम छन्,’ उनले भने, ‘सिँचाइ नहर र मोटरको प्रयोग गरी कृषकहरू रोपाइँ गर्दै आइरहेका छन्। जिल्लामा रासायनिक मलको समस्या त्यस्तो छैन। असार २५ गतेभित्र स्थानीय तहमार्फत डिओपी मल बाडिँदैछ भन्ने जानकारी प्राप्त भएको छ। अहिले धानलाई डिओपी मल भए पुग्छ। साउनको पहिलो हप्तापछि मात्र युरिया मल चाहिन्छ।’ 

एक लाख ६० हजार ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ। त्यसमध्ये ७५ हजार ४५९.१८ हेक्टरमा धान खेती हुने गरेकोमा गत वर्ष ७२ हजार हेक्टर जमिनमा बर्खे धान लगाइएको थियो। ३ हेक्टरभन्दा बढी जमिनमा आकाशे पानीको समस्याका कारण रोपाइँ नभएको उनले बताए। गत वर्ष ३ लाख ५४ हजार मेट्रिक टन बर्खे धान उत्पादन भएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगर प्रमुख गोपाल बुढाथोकीले धान उत्पादन बढाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए। उनले धानमा चाहिने मल पनि घर घरमै उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्। 

यसैबीच भद्रपुर नगरपालिकाको कृषि विकास शाखाको आयोजना तथा हाम्रो मेलमिलाप कृषि सहकारी संस्थाको व्यवस्थापनमा भद्रपुर–२ स्थित सोमबारे चोक पश्चिममा धान दिवस विविध कार्यक्रम गरी मनाएका छन्। कार्यक्रममा पञ्चे बाजा बजाउँदै नाच्दै नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायत सहभागीहरूले हर्षोल्लासका साथ रोपाइँ गरेका थिए। 

भद्रपुरमा धानको पकेट क्षेत्र घोषणा गरी उत्पादन बढाउन कृषि आधुनिकीकरणमा जोड दिएको नगरप्रमुख गणेश पोखरेलले बताए। त्यस्तै हल्दिबारी गाउँपालिकामा धान दिवस मनाइएको छ। गाउँपालिकाको आर्थिक सहयोग तथा हल्दीबारी माध्यमिक विद्यालयको आयोजना भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीहरूले रोपाइँ गरेका थिए। 

कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले ७५ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित देशमा किसानकै बिजोग अवस्था रहेको बताएका छन्। ‘जबसम्म सरकारले कृषि क्षेत्रमा प्रविधिमैत्रीसँगै उचित व्यवस्थापन गर्दैन, तबसम्म देश समृद्धि तर्फ अघि बढ्न सक्दैन,’ उनले भने। प्राविधिक धार पढाई हुने हल्दीबारी माविमा पढ्दै, कमाउँदै कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने उनले जोड दिएका छन्।

सम्बन्धित समाचार