२०८३ भाद्र १ गते , सोमबार

इरानद्वारा अमेरिकी सैनिक मार्नेलाई इनामको घोषणा

sajilo news
एजेन्सी
२०८३ भाद्र १ गते , सोमबार
इरानद्वारा अमेरिकी सैनिक मार्नेलाई इनामको घोषणा

तेहरान । इरानी सेनाले अमेरिकी सैनिकलाई मार्ने वा समात्ने व्यक्तिलाई ३० हजार डलरबराबरको इनाम दिने घोषणा गरेको छ। यदि यो कार्य कुनै महिलाले गरेमा इनाम रकम दोब्बर हुने इरानी सेनाले आइतबार बताएको छ।

इरानी समाचार संस्था ‘इर्ना’ले इरानी सेना प्रमुख अमिर हातमीलाई उद्धृत गर्दै लेखेको छ, ‘आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो संख्याको अनुरोध’ आएपछि यो योजना तयार पारिएको हो।

मध्यपूर्व युद्धका क्रममा इरानमा अमेरिकी स्थल सेना तैनाथ भएको कुनै जानकारी छैन। अपवादका रूपमा अप्रिलमा दुर्घटनामा परेका एक अमेरिकी पाइलटको उद्धार गर्न छोटो मिसन चलाइएको थियो।

हातमीले अमेरिकी सैनिक कहाँ र कहिले मार्ने वा पक्रने भन्नेबारे विस्तृत विवरण भने दिएका छैनन्। उनले भने, ‘आक्रमणकारी अमेरिकी सैन्य व्यक्तिलाई मार्ने वा पक्रेर बुझाउने जोकोहीले इस्लामी गणतन्त्र इरानको सेनाबाट ३० हजार डलर वा ५ अर्ब तोमानबराबरको इनाम पाउनेछन्।’ (तोमान १० हजार इरानी रियल बराबरको अनौपचारिक एकाइ हो)। उनले थपे, ‘यस्तो काम गर्ने साहसी इरानी महिलाले दोब्बर इनाम पाउनेछन्।’

तेहरान र वासिङ्टनबीचको युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो। त्यतिबेला अमेरिका र इजरायलले मिलेर इरानमाथि आक्रमण गरेका थिए। करिब ४० दिनको लडाइँपछि अप्रिलमा युद्धविराम भएको थियो। त्यसपछि जुनमा शान्ति वार्ताको रूपरेखा बने पनि पछि त्यो असफल भएको थियो। त्यसयता इरान र अमेरिकाले बेलाबेलामा एकअर्कैमाथि आक्रमण गर्दै आएका छन्। लडाइँ मुख्यतया दक्षिणी इरान र हर्मुज जलमार्ग वरपर केन्द्रित छ।

सम्बन्धित समाचार